काठमाडौं । संघीय संसदले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।
यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितलाई अनुकूल हुने गरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए।
यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएका थिए।