लोकनारायण सुबेदी
आफ्नो राष्ट्रपतीय कार्यकालको समाप्तिभन्दा पहिला अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानका प्रधानमन्त्री शबास शरीफलाई एउटा पत्र लेखेका रहेछन् जसको अत्यन्तै दूरगामी परिणाम हुने अनुमान बिश्लेषकहरुले गरिरहेका छन् । हुन त दुइ देशका शासन प्रमुखहरुका बीच आपसी सम्बाद आजकल फोनबाटै पनि हुने गर्दछ र प्रायजसो त्यसै हुने गर्दछ पनि । तर बाइडेनले पत्रै लेखेर जुन महत्वपूर्ण सन्देश भारत लगायत अन्य क्षेत्रका देशहरुलाई दिन खोजेका छन् त्यो निकै नै महत्वपूर्ण ठानिदैछ । यसले अमेरिका र पाकिस्तानको सम्वन्धमा नयाँ निकटताको अर्को अध्याय थपेको त मानिदैछ नै । यसमा अझ ध्यान दिइनु पर्ने कुरा के उल्लेख गरिन्छ भने यो पत्र इस्लामाबादमा रहेको अमेरिकी दूतावासले सार्बजनिक गरेको छ । त्यस पत्रमा सबैभन्दा महत्वपूर्ण कुरा के रहेको छ भने अमेरिका र पाकिस्तान क्षेत्रीय र बिश्व मामिलामा ‘राजनीतिक सहयोग’ जारी राख्ने छन् । यो राजनीतिक सहयोग भन्ने शब्दावली भारतका लागि चिन्ता र चासोको बिषय भएको या हुनसकने एकथरी भारतीय बिश्लेषकहरुले बताएका छन् । तर यसको भित्री मकसद भने त्योभन्दा अझ भिन्न र महत्वपूर्ण रहको औंल्याउँदै छन् । यस सम्बन्धमा उनीहरु के पनि भन्दैछन् भने यो बाइडेनले यो पत्र त्यतिबेला लेखेका छन् जतिबेला भारतमा आम निर्बाचन हुन लागेको छ र अमेरिकाले भारतलाई लोकतन्त्रको उपदेश दिइरहेको छ ।
अमेरिकिाको रणनीतिक लक्ष एकदमै स्पष्टै छ । अमेरिकाले पाकिस्तानबाट चीनलाई बेदखल गर्न चाहन्छ र ईरानका बिरुद्ध पाकिस्तानलाई खडा गर्न चाहन्छ । यस सम्बन्धमा के पनि उल्लेख गरिन्छ भने पाकिस्तानमा इमरान खानको सत्ताबाट हटाउनका लागि अमेरिकाले निकै ठूलो भूमिका खेल्यो । इमारान खान पार्टीका नेताहरुको कुरा सुन्ने हो भने अमेरिका शहबाज सरीफ सरकारलाई आफ्नो मुठ्ठीको कठपुतली सरह चलाउन चाहन्छ । भनिन्छ आफ्ना अनेक राजनीतिक कमजोरीका रहँदा रहँदै पनि इमरान खानले पाकिस्तानलाई स्वतन्त्र बिदेश नीतिको बाटोमा लान खोजेका र त्यसका निम्ति कोशिश गरेका थिए । त्यसै शिलशिलामा उनी रुसको भ्रमणमा पनि गएका थिए । भनिन्छ त्यही उनको सत्ता–राजनीतिक कार्यकालको अन्त्यको शुरुवात भएको र एउटा प्रमुख कारक बन्न पुग्यो ।
पाकिस्तानको राजनीतिक उथलपुथलको क्रममा पाकिस्तानका सेना अध्यक्ष असीम मुनीर र गुप्तचर एजेन्सी आईएसआई प्रमुखले वाशिङ्गटनमा अमेरिकी उच्च अधिकारीहरुसँग कुराकानी पनि गरेका बताइन्छ । त्यसैले बिश्लेषकहरु सहज अनुमान के लगाउने गर्दछन् भने त्यसै क्रममा पाकिस्तानको भाबी राजनीतिक परिदृष्यको लेखाजोखा गरियो होला । हुन पनि बितेका केही दिन पहिला पाकिस्तानमा चीनको आर्थिक हित बिरुद्धमा भएको पनि देखियो र त्यसमा चीनका प्रशिक्षितकर्मीहरु पनि मारिएका थिए । यसका अतिरिक्त अमेरिकाको तर्फबाट के पनि स्ष्ट गरिएको बताइन्छ भने अमेरिका ईरान–पाकिस्तान तेल ग्यास पाइपलाईनको पक्षमा छैन । आफ्नो गिर्दो आर्थिक अबस्थाबाट बाहिर निस्कनका लागि पाकिस्तानलाई आईएमएफ र बिश्व बैंकको ऋणको आवश्यकता भएको र अमेरिकी प्रभावका ती बिश्वका बित्तीय सस्थाहरुले पाकिस्तानलाई त्यतिबेला मात्र ऋण दिने छन् जब पाकिस्तानले अमेरिकी रणनीतिक हितलाई पूरा गर्नेछ । हालका लागि अमेरिका यस कुरामा सावधान रहँदै गएको देखिन्छ कि उसले भारतसँगका आफ्ना ब्यापक राणनीतिक सम्वन्धमा नकारात्मक प्रभाव पर्न दिइनु हुँदैन । त्यसै कारणले हो कि पाकिस्तामा भारतसँग ब्यापारिक सम्वन्ध बहाल गर्ने बिषयमा चर्चा शुरु भइसकेको छ । भारतमा भने यतिबेला लोकसभा चुनावको मौसम भएकाले पनि उपमहाँद्विपमा बद्लिदै गएको शक्ति समीकरणमाथि खाशै महत्व दिने कुरामा ध्यान केन्द्रित छैन । चुनाव पछि बन्ने सरकारले त्यसबारे प्राथमिकता र झुकाव के कस्तो हुने प्रष्ट पार्ला नै । यसै बिच यूक्रेका बिदेशमनत्री कुलेवाको भारत यात्रालाई भारतीय बिदेशमन्त्री एस जयशंकरले निकै चतुर तरीकाले ब्यवस्थापन गरेको बताइदैछ । पहिला के सन्देह गरिदै थियो भने रुसले कुवेलाको भारत भ्रमणलाई पचाउन कठिन छ । तर उनको त्यो यात्रा पछि
भारतीय बिदेश मन्त्रालयले जुन बिज्ञप्ति निकाल्यो त्यसमा रुसको उल्लेखसम्म पनि गरेन ।
आउँदा केही महिनाको समयमा पश्चिम एशियाको संकटको केन्द्रबिन्दू ईरान बन्ने देखिदैछ । गाजा नरसंहार बर्बादीको समयमा ईरान अमेरिकाको राडारमा केही धुमिल जस्तो देखिन पुगेको थियो । अब भने अमेरिका र इज्रायललाई कुन चिन्ताले सताउन थालेको उल्लेख गरिन्छ भने ईरानका परमाणु संस्थाहरुले खुलासा गरिरहेका छन् कि ईरानसँग झण्डै एक दर्जन परमाण बम बनाउन सक्ने परिष्कृत यूरेनियम उपलब्ध छ । यसमा हरेका साता बृद्धि पनि भइरहेको छ । यो यस्तो रेडलाईन हो जसलाई पार गर्ने अनुमति अमेरिकाले दिन सक्तैन भन्ने ढोल पनि पिटिदैछ ।यस रणनीतिक लक्ष पूरा गर्नमा पाकिस्तानले अमेरिकाको निम्ति निर्णायक भूमिका खेल्नसक्ने देखिन्छ । शिया–सुन्नी धार्मिक बिभाजनलाई तुल दिएर अमेरिका साऊदी अरब, कतार, यूएई र बहराइन जस्ता देशहरुसँग ईरान बिरोधी मोर्चा कायम गर्नसकने सम्भावना पनि त्यत्तिकै छ । हुन त हालै ईरानले रुस र चीनसँग मिलेर त्यस क्षेत्रमा ठूलो स्तरमा नौ–सैनिक अभ्यास पनि गरेको छ । जे भए पन कुन सन्देहलाई अस्वीकार गर्न सकिदैन भने आउदा दिनहरुमा त्यो समुद्र क्षेत्रमा ठूलो आगो लाग्न पनि सक्तछ । तर स्थिति बिकास बाइडेन र शरीफले सोचे जस्तो सरल रेखामा जाला भनेर निष्कर्श निकाल्न पनि उपयुक्त नहुन सक्छ । आजको बिश्व परिबेशलाई समग्रमा हेरेर मात्र स्थिति बिकास कसरी होला ठम्याउन सकिन्छ । चीनको बढ्दो बिश्व प्रभाव र शक्तिलाई ध्यानमा राखेर बनाइएको क्षेत्रीय र बिश्व रणनीतिको हिसाव किताब चीनले पनि लिने कुरा निश्चितै छ ।