काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको टी २० सिरिजको फाइनल खेलमा नेपालले २१४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको हो। नेपालको स्कोर ठूलो बनाउने क्रममा आरिफ शेखले ९३ रनको नटआउट पारी खेले। जम्मा ४८ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का हिर्काए।
यस्तै रासिद खानले २४ रन बनाउँदा कमलसिंह ऐरीले नटआउट १९ रन जोडे। ओपनर लोकेश बम ८ र देव खनाल ६ रनमै आउट भएका थिए। यस्तै कप्तान विनोद भण्डारीले ११ रन बनाए भने बसिर अहमदले १९ बनाउँदा नारायण जोशी एक रनमै रनआउट भएका थिए।
आयरल्यान्ड उल्भ्सका लागि फियोन हान्डले २, लियम म्याकार्थी, म्याथ्यू फोस्टर, ग्रेथ डेलनी र गेभिन होयले एक/एक विकेट लिए। यसअघि भएका दुई खेलमा नेपाल पहिलोमा २१ र दोस्रोमा ४० रनले पराजित भएको थियो।