मोरङ / नेपाल पुलिस क्लब विराटनगरमा सुरु भएको विराट गोल्डकपको आठौं संस्करणको पहिलो खेलमा आरटिसी एफसीसंग तीन शून्यको हार ब्यहोर्दै बाहिरिएको छ।
बिहीबारबाट सुरु भएको गोल्डकपमा चारपटकको विजेता पुलिस भुटानको आरटिसीसँग निरीह हँुदै पहिलो खेलबाटै बाहिरिएको हो।
अर्कोतर्फ, विराट गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको रोयल थिम्पु फुटबल क्लबले सुखद नतिजा निकाल्दै क्वाटरफाइनलको यात्रा सुनिश्चत गरेको छ। नयाँ मैदानसँगै नयाँ गोल्डकपमा सहभागिता जनाएको आरटिसीले खेलको सुरुआतबाटै आक्रमक रणनीति अपनाएको थियो। सोही क्रममा खेलको ३६ औं मिनेट आरटिसीका लागि सुखद बन्यो। केल्जाङ जिग्मेंले प्रहार गरेको कर्नरमा किन्ले ग्यालसेनले सफ्ट टचमा गोल गरेका थिए।
डिबक्सभित्र पुलिसका खेलाडीद्धारा घेरिएका ग्यालसेनले गोलकिपर अमित टमाटालाई बल रोक्ने कुनै मौका दिएनन्। एक शून्यले अग्रता बनाएको आरटिसी मैदानमा थप हावी भयो।
पहिलो गोल गरेको चारमिनेट नवित्तै आरटिसीका किन्लेले उपलब्ध गराएको लामो पासमा केल्जाङले डिबक्सभित्रबाट आकर्षक प्रहार गर्दै गोल गरे। पहिलो हाफमा दुई शून्यले पछिपरेको विभागीय टोली पुलिस, त्यसपछि खेलमा फर्कन सकेन्।
दोस्रो हाफमा समेत पुलिसको टोली आरटिसी सामू अनुभवहीनसरह देखियो। पुलिसको अग्रपंक्ती र रक्षापंक्तिको कमजोरीको फाइदा विपक्षी टोली आरटिसीले लिएको थियो। यसैबीच, खेलको ६३ औं मिनेटमा आरटिसीले पुनः आकर्षक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। मध्यभागमा बल पाएका सिदार्थ गुरुंगले पुलिसका रक्षापंक्तिका खेलाडीलाई पछि पार्दै गोल गरे।
गोल गर्नेक्रममा गुरुंगले डिबक्सभित्र पुलिसका गोलरक्षक टमाटालाई समेत छक्याउन सफल भएका थिए। सो गोलसंगै पहिलोखेलमा जित हातपार्दै आरटिसीले क्वाटरफाइनलका टिकट सुनिश्चित गरेको हो। हारपछि पुलिसका प्रशिक्षक चेतन घिमिरले नयाँ सेट भएको हुदाँ केही कमजोरी भएको स्वीकार गरे। विपक्षीसंग दबाव महसुस नगरेको बताएका प्रशिक्षक घिमिरले पहिलो हाफमा उज्वल राईले गरेको प्रहार बारमा लागेर फर्केपछि खेलमा कमजोरी देखिएको बताए।
उनले भने, ‘हामी नयाँ सेटमा मैदानमा उत्रिएका हौं। अब सिमरा गोल्डकप र कपिलबस्तुमा हुने गोल्डकपका लागि दुई टिम बनाएर खेल्नेछौ। हाम्रो ध्यान अब शहिद स्मारक ए डिभिजन लिग जित्नु रहेको छ।’ २०७२ सालमा विराट गोल्डकपको उपाधि एकपटक उचालेको पुलिसले तत्कालिन महेन्द्र गोल्डकपको २०३४, २०५९, २०६० सालमा उपाधि हासिल गरेको छ।
अर्कोतर्फ, पहिलो खेलमा जित हात पारेको आरटिसीका प्रशिक्षक उगेन दोर्जीले यस जितलाई थिम्पुलाई सभर्पित गरेको बताए। उनले भने, ‘नयाँ ठाउँमा हामी आक्रमक हुदै खेलेका हौ। रणनीति अनुसार नतिजा आफ्नै पक्षमा आएको छ। विपक्षीको कमजोर पोजिसन मार्क गरि प्रहार गर्दा सफलता हासिल भयो।’
प्रशिक्षक उगेन दोर्जेले खेलाडीले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए। ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाव कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरुले राम्रो प्रर्दशन गरेपछि नतिजा आफ्नो पक्षमा आएको छ।’ बुधबार बेलुका नेपाल प्रवेश गर्नेक्रममा अनावश्यक दुःख पाएको बताएका प्रशिक्षक दोर्जीले भने, हामीले भन्सार नाकाबाट प्रवेश गर्दा केही समस्या ब्यहोर्यौ। विगतमा यस्तो समस्या महसुस गरेका थिएनौ। बुधबार राती अबेर आएर पहिलो खेलमा जित हासिल गर्नुले उत्साह बढाएको छ।’
२०३१ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा समेत सहभागि भएको भुटानको थिम्पू ११ ले गोल्डकप चुमेको थियो। यसपटकपनि थिम्पुको टोली सोही लयमा उभिएको छ।
जित हात पारेको आरटिसीले क्वाटरफाइनलमा घरेलु टोली मोरंग एफसीको सामना गर्नेछ। त्यसैगरि गोल्डकपको शुक्रबार खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बुढासुब्बा गोल्डकप विजेता न्यूरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ।
चैत २४ गतेसम्म हुने गोल्डकपमा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको छ। आयोजक गोल्डकप ट्रष्टका सचिव ध्रुव सिग्देलका अनुसार गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए। त्यसैगरि, सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने सचिव सिग्देलले जानकारी दिए।