काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गरोस् भन्ने प्रतिक्रिया दिएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग मंगलबार दिउँसो कुराकानी गर्दै लामिछानेले आफूहरूले कामले जबाफ दिने जनाए।
‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु,’ उनले भने, ‘हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन्।’
कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ।
उनले वर्षमा संसदबाट एउटा मात्र कानुन बनेको प्रसंग पनि सुनाए।
‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस्। अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने, ‘चार वर्ष कांग्रेसले सदन अवरूद्ध गरिरह्यो र हामीले मजाले काम गर्न पाइयो भने के थाहा, धेरै मानिस सदनमा हुँदै हुने छैन कि ?’
उनले सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकोप्रति लक्षित गर्दै ‘ठूला माछा’ पक्रेको प्रतिक्रिया दिए।
उनले आफूहरू सरकारमा भएकोले काम गरिरहेको जनाए। ‘मैले केही भन्नै पर्दैन, कामले बोलिरहेको छैन ररु,’ लामिछानेले भने, ‘अस्तीनै पो प्रतिपक्षमा थिएँ। बोल्न पर्ने र भन्न पर्ने थियो अब त सरकारमा छौं। कामले आफैँ बोलेको छ जस्तो लाग्छ।’
गृहमन्त्री लामिछानेले प्रमुख प्रतिपक्षीलाई संसद अवरूद्ध गर्ने अधिकार भएको पनि टिप्पणी गरे। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको गरेको मागप्रति सोधिएको प्रश्नमा उनले भने, ‘कुन ढंगले जान्छ हेर्दै जाऊँ।’