काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका शुक्रबार काठमाडौंसहित मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ ।
यसै अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ ।
उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । यस अवसरमा सैनिक मञ्चमा परेड, शस्त्राभ्यासे तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । यसका साथै नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति हुनेछ ।