काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको जनाएएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको जनाएका हुन्।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको बताए। उनले देशमा नायकहरुलाई अपराधिजस्तो र अपराधीहरुलाई नायकजस्तो बनाउने परिस्थिति रहेको जनाए।
उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको जिकिर गरे। उनले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको जनाए।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको सन्तानको रुपमा जन्मिएको सन्तान हो यो। अहिले मान्छेहरुले के भन्छन् भने जनयुद्धलाई त औचित्यहीन भन्न थाले। जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले। त्यो देख्दाखेरी इतिहासको मजाकजस्तो लाग्छ मलाई। कस्तो फिल हुन्छ भने नायकहरु अपराधिजस्तो। र अपराधीहरु नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि।’
उनले थपे,’जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। त्यसमा जनआन्दोलनको पनि भूमिका छ।’
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए। आफूहरुको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्याउने भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाइ छ।


