काठमाडौँ / नेपाल मास्टर्स एथलिट एसोसिएसनले आइतबार भेट्रान पूर्व खेलाडीहरूलाई सम्मान गरेको छ । टेबलटेनिसका कविकेशरी बस्नेत, वाइपी लोहनी, फुटबलका डा. खगेन्द्रबहादुर श्रेष्ठ, फुटबल र एथलेटिक्सका श्याम केसी, श्याम चित्रकार र विश्वप्रकाश थापा, एथलेटिक्सकी डा. कोकिला वैद्य तथा बक्सिङका नरबहादुर थापालाई सम्मानित गरिएको थियो ।
उमेरले ७० वर्ष पार गरिसकेका उनीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेपाली महिला फुटबल टोलीकी कप्तान रमा सिंह, पूर्व ओलम्पिन बक्सिङका रविराज थापा, फुटबलका पूर्व खेलाडी तथा पूर्व आईजीपी अच्युतकृष्ण खरेल, सम्मानित व्यक्तित्व विश्वप्रकाश थापाले आफ्नो जमानाको खेल अनुभव सुनाएका थिए ।
आयोजक एसोसिएसनका अध्यक्ष जीएन दाइ शर्माले यस कार्यक्रममा निरन्तरता दिइने बताए ।