काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा नेपालले १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। तर पछिल्लो क्रममा क्रिजमा आएका करण केसी र आरिफ शेखले टोलीलाई केही समाल्दा तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो। करणले २६ रन बनाउँदा आरिफले २२ रन बनाए।
भुर्तेलले आफ्नो करिअरको आठौं अर्धशतक प्रहार गर्दा ९३ बलमा ६६ रन बनाए। उनले ८ चौका प्रहार गरेका थिए। उनी बाहेक आसिफ शेखले १७ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन बनाए। अनिल साहा ७ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा आउट भए। त्यस्तै, दीपेन्द्र सिंह ऐरी १ रनमा रनआउट हुँदा भीम सार्की शून्य रनमा पेभिलियन फर्किए। त्यस्तै गुल्सन झा ५ रनमा आउट भएका थिए।
नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमा र आर्यान दतले समान ३-३ विकेट लिँदा बास डि लिडले २ विकेट लिए। त्यस्तै रोएलफ भान डेर मर्युले १ विकेट हात पारे।
लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रुपमा रहेको प्रतियोगितामा बलिया टोलीहरू नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्काविरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो।
नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन्। दुवै टोली अन्तिम खेल जित्दै सिरिजको सुखद् अन्तको प्रतिक्षामा छन्।

