काठमाडौं । ललिता निवासको सरकारी जग्गामा निर्मित गैरआवासीय नेपाली संघ (एनआरएनए) भवन भाडामा मिलाइदिन माग गर्दै आरके शर्मा समूहका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
एनआरएनएको असन्तुष्ट खेमाका अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेट्दै उक्त भवन प्रक्रियाअनुसार लिजमा दिन आग्रह गरेको हो ।
त्यसक्रममा गैरआवासीय नागरिकताको विषयमा पनि छलफल भएको बताइएको छ । ‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’ भेटपछि अध्यक्ष शर्माले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले नियमअनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनुभएको छ ।’
समूहका उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवन रहेको जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने उनको माग छ । यद्यपि यसविरुद्ध अदालतमा जाने पक्षमा आफूहरु नरहेकोसमेत बताए ।
एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकताले तोकेका अधिकार नपाएकाले विभिन्न समस्या भोग्नुपरेको जनाउँदै प्रधानमन्त्रीलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले ‘नागरिकतामा पाउने अधिकारहरुको विषयमा पनि छिट्टै कानुनी व्यवस्था हुने’ जवाफ दिनुभएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने, उपाध्यक्ष डिबी क्षेत्री, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलगायत सहभागी थिए ।


