हेटौँडा । उत्तरी मकवानपुरमा रहेको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण गर्ने अभियान थालेको छ । प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियान सुरु गरेसँगै हुकिङ् र मिटर बाइपास गरी विद्युत् चुहावट गर्ने ग्राहक तथा उपभोक्ताको पहिचान गरी जरिवाना र कारवाही थालेको हो ।
पालुङ वितरण केन्द्रले मिटरको छड्के निरीक्षण सुरु गरेसँगै विद्युत् चुहावट फेला परेको हो । वितरण केन्द्रले माघ महिनामा सञ्चालन गरेको अभियानका क्रममा ८ जना ग्राहकले विद्युत् चुहावट गरेको फेला परेको छ । उक्त ग्राहकहरुबाट चुहावटका कारण क्षतिपूर्ति वापत एक लाख ४३ हजार जरिवाना असुल गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा बढी विद्युत् खपत गर्ने ग्राहक तथा उपभोक्ताको छड्के र रिसिलिङ् गरिएको उहाँले बताउनुभयो ।
पालुङ वितरण केन्द्रले चालु आर्थिक वर्षको माघसम्म विद्युत् महसुल नबुझाउने चार सय ५४ ग्राहकको लाइन काटेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो । लाइन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जसमध्ये ३७१ ग्राहकले बक्यौता बुझाई विद्युत् जडान गरिसक्नुभएको छ । लाइन काटिएका ग्राहकबाट ७८ लाख ७७ हजार असुल भएको प्रमुख न्यौपानेले बताउनुभयो ।