मोरङ / ब्यक्तिगत लाभ हासिल गर्न नसक्नेहरूले काम हुन नसकेको जनाउँदै सरकारको आलोचना गरिरहेको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्।
शनिबार प्रजातान्त्रिक विचार समाज कोसी प्रदेशको दोस्रो अधिवेशनको धरानमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले राजनीतिक नियुक्त हुन नसक्दा र सरकारमा उपस्थिति नदेखेकाहरूले सरकारको विरोध गर्दै आएको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले भने, ‘राजनीतिक नियुक्ति नपाउँदा र सरकारमा आफ्नो अनुहार नदेखेपछि विकास भएन भन्न मिल्छ? विकासलाई व्यक्तिको स्वार्थसँग जोडेर हेर्न मिल्छ?’ आमनागरिकको विकास हँुदै आएको बताएका मुख्यमन्त्री कार्कीले समाजलाई र प्रदेशलाई फाइदा हुने काम सरकारबाट हँुदै आएको बताए।
राजनीतिक दलका नेता भाषणमा खप्पिस भएको बताएका उनले नेताहरू भाषणमा सीमित हुने काम पूरा नगर्ने प्रवृत्ति हुँदा जनतामा निराशा छाउँदै गएको प्रस्ट्याए।
सरकारले गरेका कामलाई सकारात्मक रुपमा लिन नसक्ने र कामै भएन भन्नेहरूले समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।
उनले भने, ‘सरकारले १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार सुरु गरेर लोककल्याणकारी राज्यको अवधारणामा अघि बढिसक्दा पनि विकास भएन भन्नेहरूलाई कस्तो विकास चाहिएको हो? सरकार र निजी क्षेत्र साझेदार नभई सिक्काको दुई पाटा भएकाले प्रदेशवासीलाई उद्यमी र व्यवसायी सरकारले बनाउन बजेट ल्याएको छ। तर, यहाँ विरोधका लागि विरोध गर्नेहरूले नकारात्मक मात्र देख्ने गरेका छन्।’
कार्यक्रममा उनले प्रजातान्त्रिक विचार समाजलाई समेत प्रदेशको विकासमा हातेमालो गर्दै थिंक ट्यांकका रुपमा सहयोग गर्न आग्रह गरे। सोही क्रममा उनले प्रदेश नामांकनमा फरक मत राख्दै आएका पहिचानवादी पक्षसँग सरकारले सकारात्मक रुपमा वार्ता अघि बढाएको बताए।
पहिचानवादी पक्षसँग वार्ता भएको र सहज रूपमा ५ बँुदे सहमति कायम भएको बताएका मुख्यमन्त्री कार्कीले अब कुनै सांसदले डराएर घरमा बस्नु नपर्ने उल्लेख गरे।
सरकारको काम शान्ति सुरक्षा कायम राख्नु रहेको बताएका उनले सरकारमा प्रतिपक्षलाई समेत साथमा लिएर अघि बढेको र राजनीतिक स्थिरता कायम भएको बताए।
उनले भने, ‘कोसी प्रदेशमा अब सत्ता पक्षले प्रतिपक्षलाई हेप्ने र प्रतिपक्षले सत्ता पक्षलाई पेल्ने अवस्थाको अन्त्य भएको छ। अब हामीले एकअर्कामा फरक मत राख्नु भन्दा पनि साथ सहयोग गरेर प्रदेशलाई समृद्ध र बलियो बनाउनुपर्छ।’