काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने जनाएका छन्।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भए पनि नेताहरु भाषण गरिरहेको देखिएको जनाएका हुन्।
उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे। उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने उल्लेख गरे।
उनले, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु? के अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खालि भइसकेको हुन्छ, सबै कुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिलेकाहिँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। एक जना बसेको हुन्छ। अनि धन्यवाद है तपाईं त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईंको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो भन्छ।’
सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए।