काठमाडौं । लामो समयपछिको हिउँदे वर्षाले किसान खुशी भएका छन् । हिजो काठमाडौंदेखि सुदूरपश्चिमसम्मका धेरै ठाउँमा हल्का पानी परेको छ । अहिलेको वर्षाले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ ।
माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी र बाग्मतीका उच्च पहाडी क्षेत्रमा छिटपुट वर्षा भएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको छ । तर आज काठमाडौंमा दिउँसोपख मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ । पश्चिमी वायुको प्रभावले हिजो सुुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा मध्यम तथा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।


