एजेन्सी । कतारमा जारी एसियन कप फुटबलको नकआउट समीकरण पुरा भएको छ। बिहीबारका खेलसँगै नकआउट समीकरण पूरा भएको हो।
लिग चरणअन्तर्गत बिहीबार भएका अन्तिम खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेल्दा किर्गिस्तान र ओमानबीचको खेलपनि १-१ गोलको बराबरीमा सकियो।
त्यस्तै, दक्षिण कोरियालाई एतिहासिक रुपमा मलेसियाले ३-३ गोलको बराबरीमा रोक्यो। अर्को खेलमा बहराइनले जोर्डनलाई १-० ले हरायो।
यो नतिजासँगै समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रहँदा भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो। त्यस्तै मलेसियासँगको बराबरीले समूह ‘इ’मा भने कोरिया उपविजेतामा सिमित रह्यो। बहराइन समूह विजेता बन्यो।
समूहचरण सकिँदा समूह ‘ए’ बाट कतार र ताजिकिस्तान, समूह ‘बी’बाट अस्ट्रेलिया र उज्वेकिस्तान, समूह ‘सी’बाट इरान र युएई, समूह ‘डी’बाट इराक र जापान तथा समूह ‘इ’बाट बहराइन र दक्षिण कोरिया र समूह ‘एफ’बाट साउदी अरेबिया र थाइल्यान्डले नकआउट चरणमा स्थान बनाए।
त्यस्तै समूहको उत्कृष्ट तेस्रो रहेका चार टिमपनि नकआउट चरण पुग्न सफल भए। त्यसमा जोर्डन, प्यालेस्टाइन, सिरिया र इन्डोनेसिया छन्।
अब क्वाटरफाइनल प्रवेशका लागि ताजाकिस्तान र यूएई, इराक र जोर्डन, अस्ट्रेलिया र इन्डोनेसिया, साउदी अरेबिया र दक्षिण कोरिया, इरान र सिरिया, बहराइन र जापान, कतार र प्यालेस्टाइन तथा उज्वेकिस्तान र थाइल्यान्ड भिड्नेछन्।


