काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.९४ अंकले घटेर दुई हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४१ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।
बाँकी १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.०३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

