नेपाली युवाहरु अहिले रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धको क्रममा मृत्युवरण गरिरहेको खबर एकपछि अर्को सार्वजनिक भइरहेका छन् । गत सोमबार मात्रै रुसी सेनामा भर्ती भएका थप एक जना नेपालीको मृत्यु भएको खबर आएको छ । यसरी मृत्यु हुनेमा रसुवा नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेको परिवारले जनाएको समाचार आएका छन् । गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ मा परिवारलाई आइपुगेको थियो । मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए । यद्यपि, सरकारले यसबारे पुष्टि नगरे पनि रुस र युक्रेनबीचको युद्धका क्रममा दर्जनभन्दा बढी नेपालीको मृत्यु भइसकेको विभिन्न तथ्यले पुष्टि गरेका छन् । र, यो संख्या अझै डरलाग्दो रुपमा बढ्नेछ भन्ने पनि आकलन गर्न सकिन्छ ।
नेपाल आफै सहभागी नभएको युद्धमा नेपालीको मृत्यु हुने अवस्था आउनु दुर्भाग्य हो । पछिल्लो समय सयौं नेपालीहरु अवैध प्रक्रिया हुँदै रुसी सेनामा भर्ती हुन पुगेका छन् । यसरी भर्ती हुन जानेहरुले लाखौं रुपैयाँ एजेन्टलाई बुझाएका छन् । पूर्व तथा बहालवाला सैनिक, प्रहरी, पूर्व माओवादी लडाकू र अन्य देशमा पुगेका नेपालीहरु विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती भएका छन् । नेपालबाटै पनि युवालाई प्रलोभनमा पारेर मानव तस्करहरुले रुसी सेनामा भर्ती हुन पठाइरहेको पाइएको छ । नेपाली युवा पनि धेरै तलब पाउने, युद्धपछि रुसमा नै बस्न पाउने, परिवारलाई लैजान पाउने जस्ता प्रलोभनमा परेका छन् । उनीहरुलाई रुसी सेनामा भर्ती भए पनि युद्धमा जानुनपर्ने जस्ता प्रलोभन देखाएर भर्ती गरिएको थियो । तर, पर्याप्त तालिम नै नदिई युद्धमा पठाउँदा क्षति भइरहेको छ ।
नेपालको कमजोर आर्थिक अवस्थाका कारण युवाहरु अन्य देशमा रोजगारीका लागि आकर्षित हुँदै विगतकै थुप्रै उदाहरण छन् । यहाँ रोजगारी पाएकाहरु पनि थप कमाइको प्रलोभनमा विदेश जाने गरेका छन् । रोजगारी नै नपाउने बेरोजगारको संख्या त झन् बग्रेल्ती छन् । उनीहरु त यसै पनि रोजगारीको आशमा विदेश जाने नै भए । रुसी सेनामा नेपाली भर्ना हुन जानुको कारण यिनै हुन् । नेपालमा युवाको पलायन राष्ट्रिय संकटको रुपमा देखापरेको छ । हरेक दिन १५ सयभन्दा बढी युवा यो देशबाट अन्यत्र मुलुक पुगिरहेका छन् । यो त सरकारले राखेको तथ्यांक भयो । यसबाहेक पनि हरेक दिन स्थलमार्गमार्फत भारत हुँदै अन्य देश जाने नेपालीको संख्या पनि कम छैन । समग्रमा हरेक वर्ष नेपालमा युवाको संख्या घट्दै छ, यहाँ केवल बालबालिका, घरेलु कामकाजमा रहेका महिला तथा वृद्धवृद्धा मात्र छन् । ग्रामीण क्षेत्रमा त युवाको संख्या अत्यन्त न्यून भएको छ भने सहरी क्षेत्रमा पनि त्यसको असर देखिन थालेको छ । यस्तो समस्या समग्र सरकारको नै असफलता हो ।
नेपालले रुसलाई नेपाली भर्ती रोक्न, उनीहरुको विवरण दिन र नेपाल फिर्ता गर्नका लागि आग्रह गर्दै आएको छ । यसका लागि नेपालमा रहेका रुसी राजदूतलाई सरकारले पटकपटक कूटनीतिक नोट दिएको छ भने मस्कोस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । नेपालीको नीतिअनुसार यहाँको नागरिकलाई कुनै पनि देशले सेनामा भर्ती गर्नु अवैधानिक हो, यो पाटोलाई रुसले बेवास्ता गर्दै आएको छ । स्वयं प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सक्रिय नभएसम्म रुस–युक्रेन युद्धमा नेपाली युवा मृत्यु संख्या झनै बढ्नेछ । यसमा सरकारले गम्भीरता देखाउन जरुरी छ । जनधारणा साप्ताहिक


