काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरु टुंग्याएको छ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंग्याएको भन्दै सोमबार बिहान निर्णय सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गठबन्धनमा जुटेको सहमतिअनुसार १० वटै उम्मेदवारको नाम टुंगो लगाइएको बताएका छन्।
जसअनुसार कोशी प्रदेशबाट (अन्य)मा कृष्ण सिटौला, मधेस प्रदेशबाट (अन्य)मा आनन्दप्रसाद ढुंगाना, बागमती प्रदेशबाट (अन्य)मा जीतजंग बस्नेत र महिलामा विष्णुदेवी पुडासैनी उम्मेदवार छनोट भएका छन्। यस्तै, गण्डकी प्रदेशबाट (अन्य)मा किरणवावु श्रेष्ठ र (अपाङ्गता/अल्पसंख्यक)मा पदमबहादुर परियार छनोट भएका छन्।
लुम्बिनी प्रदेशबाट (महिला)मा विष्णुकुमारी सापकोटा र कर्णाली प्रदेशबाट (अन्य)मा कृष्णबहादुर रोकाया छनोट भएका छन्। सुदूरपश्चिम प्रदेशबाट (अन्य)मा बलदेव बोहरा र (अपाङ्गता/अल्पसंख्यक)मा नारायणदत्त भट्ट छनोट भएका छन्।


