काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा राष्ट्रियसभामा सिट बाँडफाँटको टुंगो लागेपछि उम्मेदवार चयन गर्न अध्यक्ष दाहालले पदाधिकारी बैठक बोलाएका हुन्। माओवादी केन्द्रका सचिव गणेश शाहले गठबन्धनको बैठक लगत्तै पार्टीको पदाधिकारीको बैठक बसेर राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउने जानकारी गराए ।
सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसलाई १०,नेकपा माओवादी केन्द्रलाई ६,एकीकृत समाजवादीलाई २ र जनता समाजवादीलाई १ सिट पाउनेगरी टुंगो लगाएको छ। राष्ट्रियसभा निर्वाचनको भोलि मनोनयन हुँदैछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ।


