काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली २३औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ ।
गत १७ कात्तिकमा गएको ६.४ म्याग्निच्युटको विनाशकारी भूकम्पबाट प्रभावित विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने गरी २०० परिवारलाई ब्याकअप सहितका सोलार बत्ती वितरण गर्दै कम्पनीले वार्षिकोत्सव मनाएको हो । भूकम्प पश्चात पीडितले भोग्नु परेको समस्या सम्बोधन गर्ने गरी ती सोलार बत्ती डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
वितरण गरिएका सोला बत्तीले रातको समयमा अध्ययन गर्न अति आवश्यक उज्यालो दिने मात्रै नभएर मोबाइल फोन र अन्य विद्युतीय उपकरणसमेत चार्ज गर्न सकिनेछ ।
कम्पनीका सीईओ विनयमोहन साउद सहित सुबिसुको आठ सदस्यीय टोली राहत स्वरूप अत्यावश्यक सामग्री वितरण गर्न जाजरकोट पुगेको थियो । जाजरकोटको नलगाडस्थित स्थानीय इन्द्रधनुष प्राथमिक विद्यालयमा सुबिसुले सो राहत वितरण गरेको थियो ।


