काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलन फागुनमा गर्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठन गरेको बताए। उनले सात सदस्यीय समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की रहेको पनि बताए।
विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने पार्टी प्रवक्ता सापकोटाले बताए।
जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने उनले जानकारी दिए। माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको उनले बताए।


