काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारको एक वर्षको काम हेरेर मूल्यांकन गर्दा एक सयमा पूर्णांकमा १० अंकमात्रै दिन सकिने बताएका छन् । उनले कांग्रेससमेत सामेल रहेको पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनताका अपेक्षाअनुरुप काम गर्न नसकेको बताए ।
आइतबार पर्वतमा कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘नेपाललाई सम्हाल्ने काम कसले गर्छ ? नेकपा (एमाले) ले नेपाल सम्हाल्छ ?, माओवादीले वा नयाँ आएको पार्टीले नेपाल सम्हाल्छ ? म सरकारको कुरा गरिरहेको छैन । सरकारमा एक वर्षमा राम्रो काम भयो भनेर सोध्दै गर्दा म भन्छु- गत वर्ष पुसमा मजस्ता कांग्रेसका सांसदले मत दिएर बनाएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो एक वर्षमा १०० मा १० अंकमात्रै पाउँछ ।’
उनले सरकारमा बसेर प्रधानमन्त्री र मन्त्रीहरुले काम गर्न नसकेको आरोप लगाए । ‘चित्त बुझाउने कुरै छैन, सरकारले काम गर्न सकेकै छैन, अब एक वर्ष बाँकी छ । हामीले बनाएको सरकार हो । कि अब १० अंकमात्रै आएकोले मिहिनेत गर्छु भन्नुपर्यो । नत्र अर्को वर्ष १० बाट घटेर ८ अंकमा झर्छ,’ थापाले भने ।
महामन्त्री थापाले नेपालमा एकमात्रै दलले निर्वाचन लडेर बहुमत प्राप्त गर्ने अवस्था नरहेको भन्दै अब निर्वाचन कानुनमै संशोधन गरेर निर्वाचनअघि दलहरुले गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताए । ‘योसँग नभए अर्को हुन्छ, अर्कोसँग नभए अर्कोसँग हुन्छ । गठबन्धन गरेर चुनाव लड्ने र सप्तरंगी सरकार बन्ने कुराले हाम्रो लोकतन्त्रलाई मद्दत पुर्याउँदैन,’ उनले भने ।


