दाङ / टिप्परको ठक्करबाट मृत्यु भएकाका परिवारले घटनामा संलग्न टिप्पर चालकलाई कारबाही र उचित क्षतिपूर्ति नपाउँदासम्म नउठाउने भन्दै आन्दोलन थालेका छन्।
शुक्रबार राति घोराही उपमहानगरपालिका–१० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङ बन्दको आह्वान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए।
दुर्घटनामा मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका–४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।


