मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रमा उठेका विरोधका आवाजको हल वार्ता र छलफलबाट निस्कने बताएका छन्।
मंगलबार झापाको दमक नगरपालिकाद्वारा आयोजित ‘लागुअौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्याको हल वार्ताबाट हुनुपर्नेमा जोड दिएका हुन्।
मुख्यमन्त्री कार्की कार्यक्रममा सहभागी हुने क्रममा पहिचान पक्षधरले प्रदर्शन गरेका थिए। सोही सन्दर्भमा मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा विरोध गर्नु स्वभाविक भएको जनाउँदै समस्याको हल छलफल र वार्ताबाट हुनेमा विश्वस्त हुन आग्रह गरे।
उनले भने, ‘पहिचानवादीसँग वार्ताको लागि ढोका खुल्ला रहेको छ। हामी सबै समस्या लोकतान्त्रिक र वार्ताको माध्यमबाट समाधान हुनुपर्ने पक्षमा छौँ। आउनुस् सँगै बसौँ र हलको बाटो निकालौँ।’
उनले लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम चलाए पनि घरका छोराछोरी लागुअौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताए। उनले भने,’सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेका छन्। तर, मानवीय विकासको कुरा भने कसैबाट हुँदैन। त्यसैले पनि सरकारको प्राथमिकता अहिले मानवीय विकास नै रहेको छ।’
मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सार्वजनिक स्थलहरुमा बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पत्ति छोराछोरीलाई दिने तर संस्कार नदिने समाज चिन्ताको विषय भएको बताए। उनले बालबालिकालाई सामाजिक शिक्षा दिन आवश्यक रहेको बताए।
कार्यक्रममा दमक नगरपालिकाकी उपाध्यक्ष रेगिना भट्टराई प्रसाईंले कार्यक्रम १५ लाख बजेटबाट सुरु भएको र कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन्।


