काठमाण्डौ / नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एनसेल प्रकरणमा प्रत्यक्ष सहभागी देखिएका ब्यक्तिहरुलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन सुझाव दिनु भएको छ ।
सरकारले दोषीहरुलाई कार्वाही गर्दैन भने सरकारका जिम्मेवार ब्यक्तिहरुमाथि नै शंका पैदा हुन सक्ने खबरदारी पनि उहाँले गर्नु भएको छ । गौतमले एनसेल प्रकरणमा हाम्रो धारणा भन्दै सार्वजनिक गर्नु भएको ५ बुँदे सुझावमा सरकारलाई यस्तो खबरदारी दिनु भएको हो ।
प्रस्तुत छ सुझावको पूर्ण अंश :- एनसेल कान्डका संवन्धमा हाम्रो विचार प्रधानमंत्री प्रचण्डले संयुक्त अरब ईमिरेट्समा बिदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरिरहेकै अवस्थामा नेपालमा बिदेशी लगानीमा सञ्चालित मोवाईल सेवा सञ्चालन गरिरहेको एनसेल नामक कम्पनीको शेयर खरिदबिक्रीबारे अनौठो घटना भयो ।
यसबारे सत्ता गठबन्धन दलका नेताहरुबाट आएको प्रतिकृयात्मक प्रतिबद्धता वास्तवमा स्विकार्न नसकिनेछ । यस्तो प्रतिकृयाले सरकारप्रति नै प्रशस्त शंका जन्माएको छ । एनसेलको शेयर बेच्ने र खरिद गर्ने दुबैलाई र जिम्मेवार नियामक निकायलाई तत्काल कार्वाहीको दायरामा लिएर अगाडि बढ्नु पर्नेमा गठबन्धनका नेताहरुले प्रारम्भमै उनीहरुको नियत गलत रहेको आशंका पैदा गराउने खालको कथित अध्ययन समितिको नाटक मञ्चन गरका छन् । यो गलत छ । यो घटनाले नेपालमा वैदेशिक लगानीमा कति समस्या छन् भन्ने गम्भीरतालाई उजागर गरेको छ ।
यस सम्बन्धमा –
१) सरकारले शेयर खरिद गर्ने र बिक्री गर्ने दुबै पक्षलाई पक्राउ गरी अनुशन्धान थाल्नु आवश्यक छ ।
२) कुनै पनि विदेशी वा स्वदेशी कम्पनी आफ्नो शेयर लगानीको वास्तविक मूल्य भन्दा २८ गुना कम मूल्यमा कम्पनी बेचेर बाहिरिन सम्भव हुँदैन । यो राज्यलाई लुट्ने मनशायबाट प्रेरित काम हो, यसमा संलग्नहरुलाई कार्वाही हुनैपर्छ ।
३) नेपालमा काम गर्ने वातावरण नभएको भनेर एनसेलको लगानीकर्ता मलेशियन कम्पनी आजियाटाले नेपाल राष्ट्रकै बिरुद्ध बक्तब्यबाजी गर्ने अपराध गरेको छ, यसमा को को नेपालीहरु संलग्न छन् ?अबिलम्ब छानबिन गरी कार्वाही गरिनु पर्छ ।
४) कर छल्नकैनिम्ति यो नाटक गरिएको हो भन्ने स्पष्ट छ, यसले हाम्रो देशलाई आर्थिक मात्रै नभएर राष्ट्रिय स्वाधीनतामा समेत कति हानी गर्छ ? सरकारको गम्भिरता यसतर्फ देखिएन ! यस्ता ठग लगानीकर्तालाई कार्वाही गरी वास्तविकता उजागर गर्न सकिएन भने यस कार्यमा सत्ताका जिम्मेवार ब्यक्तिहरुप्रति नै शंका गर्ने अवस्था बिकसित हुनेछ ।
५) देशको कानून र नियम विपरित हाकाहाकी यस्तो लूट कसैको संरक्षण बिना कसरी सम्भव हुन सक्छ ? सरकारले जवाफ दिन जरुरी छ ।
वामदेव गौतम अध्यक्ष
नेकपा एकता राष्ट्रिय अभियान
२० मंसिर २०८०


