काठमाडौँ / नेपाल सुपर लिग फुटबलमा एरिक विष्टको उत्कृष्ट फ्रिकिकमा बुटवल लुम्बिनीले पहिलो जित हासिल गरेको छ।
आइतबार भएको खेलमा स्पोर्टिङ इलामलाई २–१ ले पराजित गर्दा बुटवलको जितमा एरिक विष्ट नायक बने। एरिकले निर्धारित समय सकिने २ मिनेट बाँकी रहँदा पाएको फ्रिकिकलाई करिब ३५ यार्डबाट गरेको आकर्षक प्रहार गोलमा परिणत हुँदा इलाम स्तब्ध बन्यो।
एनएसएलकै प्रतिस्पर्धात्मक खेलमध्येमा रहेको खेलमा इलाम र बुटवल दुवैले गोलका उत्कृष्ट अवसरहरु सिर्जना गरेका थिए। बुटवलका गोलरक्षकले इलामका एकपछि अर्को राम्रो अवसर बचाउँदै टिमलाई खेलमा राखे।
पहिलो हाफमा दुवै टिमले पर्याप्त अवसरबीच गोल गर्न चुके पनि दोस्रो हाफमा बुटवल लुम्बिनीले खेलमा अग्रता लिएको थियो। ४९ औँ मिनेटमा जिलेस्पीजंग कार्कीले दिएको आकर्षक पासलाई बिनोङले सिक्स यार्ड बक्सबाट सहज फिनिस गर्दा इलाम खेलमा पछि परेको थियो।
तर १–० ले पछि परे पनि इलामले लगातार बुटवलमाथि दबाब बढाउँदा ५७औँ मिनेटमा पेनाल्टीको मौका प्राप्त गरेको थियो। कमाराको पासमा एनडवले गरेको प्रहार गोलरक्षकले जोगाए। रिबाउन्डमा पनि गोलरक्षकले बचाए। लगतै बिइकले दिपेश घलेमाथि फाउल गर्दा इलामले पेनाल्टीको मौका पायो। जसलाई कमाराको प्रहार गोलरक्षक मोहमाडुले सानदार डाइभ हान्दै बचाउँदा इलाम खेलमा स्तब्ध बनेको थियो।
त्यसपछि पनि लगातार दबाब बनाएको इलामले ७८औँ मिनेटमा बराबरी गोल गर्यो। सन्तोष खत्रीले बक्स बाहिरबाट लिएको प्रहारलाई गोलरक्षकले क्लियर गरेको बलमा पाएको रिबाउन्डलाई अब्डुल्ज बाले गोल गर्दै खेल बराबरीमा ल्याए। तर उनको बराबरी टिमलाई अङ्क दिलाउन भने पर्याप्त रहेन। ८८ औं मिनेटमा आकर्षक फ्रिकिकमार्फत बुटवलले गरेको गोल टिमलाई तीन अङ्क दिलाउन पर्यायप्त रह्यो।

