काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ५ महिनापछि भेटवार्ता भएको छ । दाहाल र मोदीबीच यूएईको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) को दौरान साइडलाइनमा भेटवार्ता भएको हो ।
दाहालले गत जेठमा भारतको औपचारिक भ्रमण गरेपछि मोदीसँग पहिलो भेटवार्ता भएको हो । दाहालको सचिवालयका अनुसार साइलाइन भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले कात्तिक १७ मा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको थियो । त्यस अवसरमा दुई नेताका बीचमा दुईपक्षीय हितको बारेमा कुराकानी भएको उल्लेख छ ।
यसैबीच प्रधानमन्त्री र क्युबाका राष्ट्रपति मिगेल डिआस–कनेलबीच पनि साइडलाइनमा भेटवार्ता भएको छ । उक्त अवसरमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।


