काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने क्रममा बिहीवार अबुधाबी पुगेका प्रधानमन्त्रीले त्यही दिन बेलुकी नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन् ।
दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीमा रहेको नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवम् सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएका नेपाली दूतावासले जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएईबीच आर्थिक एवम् व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यूएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आबुधाबीमा रहेको ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीवारदेखि कोप–२८ दुबईमा सुरु भएको छ ।


