इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले अङ्क बाँडेका छन्। शनिबार भएको खेलमा साविक विजेता सिटीले पहिलो हाफमा नै अग्रता बनाए पनि अन्तिम १० मिनेट सम्हालिन नसक्दा अङ्क गुमाउन बाध्य भयो।
सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले स्टार स्टाइकर अर्लिङ हालान्डको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। २७ औँ मिनेटमा हालान्डले लिभरपुलका गोलरक्षक एलिसनको कमजोर क्लियरेन्सलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।
गोलसँगै हालान्ड प्रिमियर लिगमा सर्वाधिक चाँडो ५० गोल पूरा गर्ने खेलाडीसमेत बने। उनले ४८ खेलमा ५० गोल पूरा गरे। यसअघि यो कीर्तिमान एन्ड्रियु कोलको नाममा थियो। उनले ६५ खेलमा ५० गोल पूरा गरेका थिए।
त्यसपछि पनि सिटीले गोलका मौकाहरु सिर्जना गरे पनि गोल गर्न भने सकेन। तर लिभरपुलले ८० औँ मिनेटमा टिमको सम्भावित हार टार्न सफल भयो। उसका लागि ट्रेन्ट अलेक्सेन्डर अर्नोल्डले गोल गर्दै खेल बराबरीमा ल्याए।
त्यसपछि दुबै टर्फबाट थप गोल हुन नसक्दा दुबै टिमले १–१ अङ्क बाँडे। सिटी बराबरी पछि १२ खेलबाट २९ अङ्क बनाएर शीर्ष स्थानमा कायम छ। यद्यपि शनिबार राति हुने खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराएमा भने शीर्ष स्थानमा उक्लिने छ। आर्सनल २७ अङ्कका साथ तेस्रो स्थानमा छ। लिभरपुल २८ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

