घोराही । दाङमा २५ विघाभन्दा बढी जमिनमा फूल खेती गरिएको छ । तिहारमा प्रयोग हुने प्लाष्टिक मालालाई हटाउँदै फूलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको हो ।
जिल्लामा व्यवसायिक फूल खेती बढेपछि यस बर्ष तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लाष्टिक मालाको प्रयोगलाई प्रतिबन्ध लगाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकामा व्यावसायिक रुपमै सयपत्री फूलको खेती गरिएको छ ।
तिहारको बेला मात्र होइन, यसपालि अन्य सार्वजनिक मेला, महोत्सव र कार्यक्रमहरुमा मालाका लागि सहजै फूल पाइने व्यवसायीको भनाइ छ । दाङमा तिहारका बेला फूलको अभाव नहुने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । जिल्लाभर करिब २५ विघा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लामा पुष्प व्यवसाय बढेकाले जिल्लामा चाडपर्वको समयमा पुष्पको अभाव हुनेछैन । उहाँले भन्नुभयो, ‘विगतका बर्षहरुको तुलनामा यसबर्ष धेरै ठाउँहरुमा पूmल खेती छ । जस्लेगर्दा विगतमाजस्तो यसबर्ष बाहिरबाट पूmल ल्याउनुपर्ने अवस्था छैन ।’
उहाँका अनुसार सबैभन्दा धेरै यसबर्ष तुलसीपुर उपमहानगरपालिका –१७ मा एकै ठाउँमा १६ विघा क्षेत्रफलमा फूल खेती गरिएको छ । त्यहाँबाट दाङका बजार र बाहिरी जिल्लामा समेत फूल निर्यात भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका –१७ मा १६ विघासँगै तुलसीपुर–१५ मा १० कठ्ठा र अन्य क्षेत्रको समेत गरी तुलसीपुरमा १८ विघा क्षेत्रफलमा फूल खेती गरिएको छ । घोराही उपमहानगरपालिकामा करिब पाँच विघा क्षेत्रफलमा फूल खेती गरिएको लामिछानेले जानकारी दिनुभयो ।
जिल्लामा पूmल खेती बढेकाले आम्दानी पनि राम्रो हुने आशामा रहेको घोराही उपमहनगरपालिका –१४ झिगौरामा फूल खेती गर्नुभएका दाङ एग्रोमार्ट कृषि फर्मका सञ्चालक बीरेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत बर्षमा विक्री भएको अवस्था र यो बर्ष बढेको फूल खेतीले जिल्लाका लागि प्रयाप्त उत्पादन भएको छ । बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन ।’
त्यसैगरी घोराही उपमहानगरपालिका –१४ मा जलजला पुष्प व्यवसाय सञ्चालन गर्दै आनुभएका लोकेन्द्र रोका मगर पनि जिल्ला फूल खेती बढेकाले यो बर्ष बाहिरबाट ल्याउन नपर्ने अवस्था रहेको बताउनुभयो । विगत छ सात बर्षदेखि पूmल खेती गर्दै आउनुभएका रोकाले भन्नुभयो, ‘विगतको तुलनामा यसबर्ष धेरै ठाउँमा खेती भएको छ । यस्ले जिल्लाको आवश्यकतालाई पुरा गर्ने देखिन्छ ।’ उहाँका अनुसार जिल्लामा यस बर्ष एक सयदेखि एक सय ५० रुपियाँसम्म माला तथा फूल प्रतिकेजी ३ सयदेखि ४ सय रुपियाँसम्म विक्री भइरहेको छ ।


