काठमाडौँ / उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङ नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा सचिव वाङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सिजिनफिङबीच भएको सहमति-सम्झौताको कार्यान्वयन पक्ष नै आफ्नो भ्रमणको उद्देश्य भएको बताए । प्रधानमन्त्री दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमूलक रहेको उनले बताए ।
नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैं प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी व्यक्त गरेका उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भूकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने सचिव वाङले आश्वासन दिए ।
कोभिडको कारणले केही समय सीमामा समस्या भए पनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भइसकेको तथा केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उनले खुसी व्यक्त गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनै तहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको उल्लेख गरे । नेपालको विपद तथा विकासमा चीनको सहयोग अमूल्य रहेको समेत उनले बताएका थिए ।
नेपालको सीमा मामिला संघीय सरकारले हेर्ने र चीनको सीमा मामिला त्यहाँको केन्द्रीय, प्रान्तीय र इकाई तीनै सरकारले हेर्ने भएकोले कहिलेकाहीं द्वीपक्षीय सरोकारका समस्या आउँदा गरिनुपर्ने समन्वयलाई व्यहारिक बनाइनुपर्ने छलफलसमेत भेटवार्तामा भएको थियो ।

