काठमाडौं । सिस्नुपानी नेपालले यसपटकको तिहारमा देउसी भैलो कार्यक्रम रद्द गरेको छ। जाजरकोट भूकम्पका कारण मुलुक शोकमा रहेको भन्दै सिस्नुपानी नेपालले विगत २५ बर्षदेखि गर्दै आएको देउँसी भैलो कार्यक्रम यसपटक रद्द गर्ने निर्णय गरेको सूचना मार्फत जानकारी गराएको छ।
सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यद्वारा जारी सूचनामा भनिएको छ, यही कात्तिक १७ गते राति जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा गएको भूकम्पले त्यस क्षेत्रमा ठूूलो मात्रामा जनधनको क्षति गरेकोमा हामी अत्यन्त मर्माहत भएका छौँ। दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहररूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दिवंगतहररूका परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै पीडितहरुको पुनर्स्थापनाकालागी सहयोगको आह्वान पनि गर्दछौं।’
सिस्नुपानी नेपालले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप रु ५०,०००। (पचास हजार) उपलव्ध गराउने निर्णय गरेको छ।
‘विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष (२०८०)का लागि स्थगित गरिएको व्यहोरा दुःखका साथ जानकारी गराउँछौँ। आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वाससमेत व्यक्त गर्दछौँ,’ सूचनामा उल्लेख छ।


