मोरङ / कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएको छ।
विराटनगरमा सोमबार सम्पन्न कांग्रेस संसदीय दलको बैठकले थापाको राजीनामा अस्वीकृत गर्दै पुनः दलका नेतामा राख्ने निर्णय गरेको हो।
थापाको राजीनामा अस्वीकृत भएसँगै दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राई पनि आफ्नो पुरानै जिम्मेवारीमा फर्किएका छन्।
थापाले केन्द्रीय नेतृत्वको सुझावसँगै दलको बैठकको निर्णयलाई सकारात्मक रुपमा लिएर जिम्मेवारीमा फर्किएको जानकारी दिएका छन्। दलको बैठकले पुनः पुरानै जिम्मेवारीमा फर्कन गरेको आग्रह र प्रदेशमा राजनीति सही मार्गमा आएको हुँदा आफू जिम्मेवारी लिन तयार भएको थापाले बताएका छन्।
थापालाई मुख्यमन्त्री केदार कार्कीले नै पुनः दलको नेताको जिम्मेवारी सम्हालिदिन आग्रह गरेका थिए।
मुख्यमन्त्री कार्कीले एमालेको समर्थनमा ४७ सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष असोज २५ गते मुख्यमन्त्रीको दाबी पेश गरेपछि थापाले दलको नेताबाट राजीनामा दिएका थिए।
थापाले असोज २७ गते विराटनगरस्थित कांग्रेस प्रदेश पार्टी कार्यालयमा राजीनामा दिएका थिए। तर उनको राजीनामा स्वीकृत भएको थिएन। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलापक्षधर मानिएका थापा नेपाली कांग्रेस प्रदेशका सभापति हुन्। यसअघि, उनी दुईपटक गठबन्धनको साथमा प्रदेशको मुख्यमन्त्रीको दाबेदार रहेका थिए। दुवैपटक अदालतले उनले लिएको विश्वासको मतलाई गलत ठहर् याएपछि थापा पछाडि हट्न बाध्य भएका थिए।


