काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको जनाएका छन् ।
बिहीबार साहित्यकार अनु शाहको कविता कृति अनुरागको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
उनले आफ्नो आलोचना अहिलेसम्म भएको नसुनेको भन्दै आलोचना गर्ने ठाउँ नपाएपछि विरोध गरिरहेको जनाए । उनले नेपालको भूमि समेटेर नक्सा जारी गरिसकेपछि केही विदेशी सञ्चारमाध्यमहरूले आवेगमा कम्बोडियामा तीन हजार करोड लगानी रहेको भ्रमपूर्ण समाचार प्रकाशित गरेको कुरालाई अहिले प्रचार गरिएको जनाए । उनले उक्त सञ्चारमाध्यमहरूले गल्ती भएको स्वीकार गरिसकेको कुरालाई अहिले विरोधका लागि प्रचार गरिएको जनाए।
अध्यक्ष ओलीले कुनै पनि कम्पनीमा तीन हजार करोड लगानी गर्दा गोप्य नरहने भन्दै उनले सो लगानी गरेको पत्ता लगाउनेलाई उक्त रकमसहित एक हजार बक्सिस दिने जनाए । उनले आफूले देश र जनता प्रति निष्ठाका साथ गरेको कामलाई जीवनभर गरिरहने जनाए।
उनले भने, ‘मेरो अहिलेसम्म आलोचना भएको मैले सुनेको छैन । विरोध मैले सुनेको छु । आलोचना गर्ने ठाउँ नपाएपछि मानिसले विरोध गर्छ । यो कुरा गलत बोल्यो भन्ने, विचार यो, व्यवहार यो गलत गरेको छ भन्ने ठाउँ छैन । त्यो नभएपछि झुटा आरोप लगाउँछ । आरोप भनेको आलोचना होइन । आलोचना भनेको यो गलत भयो, यहाँ गल्ती भयो भन्ने हो । यो अहिलेदेखि होइन, पहिल्यैबाट हो । पशुलाई नथुन्ने गरी मलाई थुनियो । अहिलेसम्म पनि झुट बोलिरहेका छन् । मैले नेपालको भूमि समेटेर नक्सा छापेपछि केही विदेशी मिडियाहरूले अत्यन्त उत्तेजित भए, मेरा विरुद्ध लेखे, जथाभाबी लेखे, कुनै मर्यादाको सीमा रहेन । त्यो आलोचना होइन, विरोध हो । पछि यो गल्ती भयो भने । अहिले फेरि त्यही कुरा ४ वर्षअघि गल्ती भयो, आवेशमा बोलियो भनेर स्विकारिसके । अहिले त्यही कुरा एक थरीले लिएर हिँडेका छन्, कम्बोडियामा लगानी भनेर । मलाइ थाहा छैन, ट्रकमा पठाएँ की जेटमा पठाएँ की । त्यो तीन हजार करोड पत्ता लगाऊ, तिमीलाई नै दिउँला र बक्सिस स्वरूप १ हजार दिन्छु भनेको थिएँ । त्यत्रो लगानी छ भने गोप्य रहँदैन होला । मैले देश र जताकाप्रति जुन निष्ठाका साथ काम गरेको छु, त्यो जिन्दगीभर छोड्दिन ।’
अध्यक्ष ओलीले अहिले पनि आफूलाई स्वास्थ्य कस्तो छ रु भनेर जिस्क्याउने गरेको आशय व्यक्त गरे । उनले स्वास्थ्य कस्तो छ भनेर धेरै पटक सोधिरहनेहरूलाई अझै २० वर्ष राजनीति गर्छु भन्ने जवाफ दिएको जनाए ।
उनले भने, ‘अलि पछाडि अब क्यान्सरको पनि भ्याक्सिन नै निस्किन्छ । जन्मने बित्तिकै लगाइदियो त्यसपछि केही पनि छैन, त्यस कारण हामी आशावादी हुनुपर्छ । त्यही भएर मैले कस्तो छ स्वास्थ्य, कस्तो छ आजकाल तपाईँलाई भनेर सोधिरहन्छन्, त्यसैले अझै २० वर्ष राजनीति गर्छु भनिदिएको ।’
अध्यक्ष ओलीले सबै जना सधैँ आशावादी भएर जिउन सिक्नुपर्ने जनाए ।