काठमाडौँ / नेपाली क्रिकेटमा ब्याटिङको अस्थिर परिचय अब बलियो ब्याटिङ लाइनअपले विस्थापित गरिसकेको छ। पछिल्लो केही महिनामा नेपाली क्रिकेटले देखाएको छवि मंगलबार टियु मैदानमा खुल्यो।
नेपालको समूहमा टक्कर दिन सक्ने टोली मानिएको मलेसियासँग नेपाली खेलाडीले खुलेर ब्याटिङ गरे। जसको परिणाम नेपाल टी–२० विश्वकप छनोटभन्दा अब एक कदम मात्र पछि छ। विश्वकप सपना अब सेमिफाइनलको एक खेलमा अड्किएको छ।
नेपालले ऐतिहासिक रुपमा ९ वर्षपछि टी–२० विश्वकपमा आफ्नो यात्रा तय गर्ने विश्वास घरेलु समर्थकले लिएका छन्। पछिल्लो समय नेपाली क्रिकेटको बलिङ र ब्याटिङको जादु साँच्चीकै लोभलाग्दो छ। त्यसमा पनि टियू मैदान नेपाली क्रिकेटका लागि घरेलु मैदानभन्दा अझ माथि रहँदै आएको छ, किनकि नेपाले टियूमा अधिकांश जित्छ, थोरै हार्छ।
विश्वकप लिग–२ देखि टी–२० विश्वकप छनोटसम्मलाई आधार मान्ने हो भने नेपालले अधिकांश जितेको छ। त्यसलाई कप्तान रोहित पौडेल पनि मान्छन्। उनी टियूमा खेल्दा टिम सबैभन्दा बढी मानसिक रुपमा स्वतन्त्र भएर खेल्ने बताएका थिए।
रोहित भन्छन्,’टियू मैदान हाम्रो घरेलु मैदान मात्र होइन, यो हाम्रो सबथोक हो। हामीले जे जति उपलब्धि पाएका छौँ, यो मैदानकै देन हो। अनि यही मैदानमा उपस्थित समर्थकले नेपाली क्रिकेटमा प्राण भरिरहेका छन्।’
रोहितले त्यसो भनिरहँदा हरेक क्रिकेट पत्रकार सम्मेलनमा उपस्थित हुँदा टियू मैदानको यो सुन्दर वर्तमानलाई अझ माथि पुगेर थप प्रमाणित गर्न चाहन्छन्। पछिल्लो समय नेपाली क्रिकेटका उम्दा खेलाडी दीपेन्द्र सिंह ऐरी खेल सुरु हुनुभन्दा केही घन्टा अघि मात्र अभ्यासका क्रममा चोट बोक्न पुगे। तर, नेपालले दुई खेलमा दीपेन्द्रको अभाव महसुस हुन दिएको छैन। तर खेलाडीले उनलाई हरेक पटक मिस गर्छन्।
मलेसियासँगको खेलपछि सन्दीपले दीपेन्द्रलाई टिमले मिस गरेको सुनाए। उनले भने, ‘लामो समयदेखि हाम्रो टी–२० को महत्त्वपूर्ण खेलाडी हो। उसको कमी स्वभाविक महसुस हुन्छ। हामी विश्वकपसम्म पुगेर दिप्पीलाई गिफ्ट दिन चाहन्छौँ।’
उनले दीपेन्द्रको अवस्थाबारे भने,’उसलाई अलिकति गम्भीर चोट लागेको छ। मैले सुनेसम्म एक–डेढ महिना उसलाई रिकभरि गर्न लाग्छ। हामीले कामना गरिरहेका छौँ कि ऊ चाँडै मैदानमा फर्कियोस्।’