काठमाडौं । त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय शृङ्खलामा संयुक्त अरब इमिरेट्स (युएइ)ले आइतबार हङकङलाई छ विकेटले हराएर फाइनलमा खेल्ने सम्भावना बलियो बनाएको छ ।
चालू प्रतियागितामा घरेलु टिम नेपालले एक खेलअघि नै उपाधि भिडन्तमा स्थान बनाइसकेको छ । अब युएइले सोमबार नेपाल र त्यसपछि बुधबार हङकङविरुद्ध खेल्नेछ । यी दुई खेलपछि नेपालसँग फाइनल खेल्ने टिमको छिनोफानो हुनेछ । अङक तालिकामा नेपाल अहिलेसम्म खेलेका तीनै जितेर शीर्षस्थानमा छ । युएइले दुई खेलमध्ये एकमा जित र एक हारमा खेलेको छ । हङकङ तीन खेलमा जितविहीन छ ।
मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेटका क्षतिमा १४९ रन बनाएको थियो । युएइले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा १५३ रन बनाएर लक्ष्य हासिल गर्यो ।
कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्कासहित ४० र खालिद शाहले ३२ बलम तीन छक्का र एक चौकासहित ३७ रन बनाएपछि युएइले सहज जित हात पार्यो । यसअघि, हङकङका लागि बाबर हायातले ४५ बलमा सर्वाधिक ६६ रन बनाउनुभएको थियो । उहाँको पालिमा चीन चौका र पाँच छक्का सामेल थियो । एजाज खानले पनि अविजित ४८ रनको महत्वपूर्ण पालि खेल्नुभयो ।
सो खेलमा युएइका जाहुर खानले सर्वाधिक तीन विकेट लिनुभयो । जाहुर नै म्यान अफ दि म्याच बन्नुभयो । हङकङका लागि यासिम मुर्तजा चार ओभरमा २० रन खर्ची दुई विकेट लिएर सफल बलर बन्नुभयो ।