काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे।
उनले अधिकारीलाई प्रधानसेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे। उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधानसेनापति बनाउने कुरा झुटो रहेको बताए। उनले नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड रहेको बताए। उनले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने बताए। उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको दाबी गरे।
उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताए।