काठमाडौँ / मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट प्रकाश सेढाईंलाई थप उपचारको लागि भारत लगिने भएको छ।
शनिबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका घाइते भएका पाइलट सेढाईंलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारको लागि राजधानीको ह्याम्स हस्पिटल ल्याइएको थियो।
तर उनको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टर लैजाने तयारी भइरहेको ह्याम्स अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।
‘उहाँलाई उहाँको परिवार तथा एयरलाइन्ससँगको सरसल्लाहमा थप उपचारका लागि भारतको नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भइरहेको छ,’ उनको उपचारमा संलग्न ह्याम्स अस्पतालका कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. सविन कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अस्पतालका अनुसार उनको शरीरको मुखको भाग, हाटखुट्टालगायत ४५ देखि ५० प्रतिशत भाग जलेको छ। साथै उनको फोक्सो, मेरुदण्डको हड्डी र किड्नीमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ।