काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले २० जना प्रहरी अधिकृतहरूलाई एप्लिकेसन अफ सिसिटिभी एण्ड ड्रोन इन पुलिस अपरेशन एण्ड इन्भेष्टिगेशन अनुशिक्षण प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही निर्देशनालयमा संचालित प्रथम समूह अन्तर्गत उनीहरुलाई उक्त अनुशिक्षण प्रदान गरिएको हो ।
उक्त अनुशिक्षण समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले अनुशिक्षण समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले अपराध अनुसन्धान तथा प्रहरी कार्यमा अनुशिक्षण महत्त्वपूर्ण सावित हुने चर्चा गर्दै अनुशिक्षणको क्रममा हासिल गरेका ज्ञान सीपलाई आ-आफ्नो कार्य क्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले प्रशिक्षार्थीहरूको तर्फबाट अनुशिक्षण सम्बन्धी अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अनुशिक्षण संयोजक प्रहरी उपरीक्षक अंशु कुमार सिंहले स्वागत मन्तव्य तथा अनुशिक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ५ कार्यदिन अवधिको उक्त अनुशिक्षणमा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ३ जना र प्रहरी निरीक्षक १६ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।