काठमाडौँ / बुधबार राति इजरायल जाने नेपाल एयरलाइन्सको जहाजले नेपाली विद्यार्थीको शव नल्याउने भएको छ। हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव बुधबार राति जाने जहाजले नल्याउने परराष्ट्रमन्त्रालयले जनाएको हो।
परराष्ट्र मन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता एवं सह सचिव सेवा लम्सालले यसको जानकारी दिएकी हुन्। योसँगै इजरायलमा रहेका नेपाली विद्यार्थीको शव ल्याउन ढिला हुने भएको छ। प्रवक्ता लम्सालले इजरायल सरकारले शव हस्तान्तरण नगरेकाले ल्याउन नसकिने जानकारी दिइन्।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बुधबार राति जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता लिएर आउने जानकारी दिइन्।
पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले भनिन्, ‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले हस्तान्तरण नगरेकाले अहिले तत्काल शव ल्याउन सम्भव छैन। पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ। यसमा परिवारजनले उच्च बुझाइ राखिदिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं।’
परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका दाबी गरेको छ। गत शनिबार इजरायलको दक्षिणी भागमा हमासले गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
शव जतिसक्दो छिटो नेपाल ल्याउने विषयमा इजरायल सरकारसँग उच्च प्राथमिकताका साथ समन्वय भइरहेको उनले जानकारी दिइन्।