काठमाडौं । नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद थापाले स्थानीय तहका कर्मचारीहरूको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो । उहाँले कर्मचारीहरूको जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद थापाले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि सरकार समयमै गम्भीर हुन नसकेको बताउनुभयो । उहाँले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । ‘‘इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारमा सरकार समयमै गम्भीर हुन नसक्दा र नागरिकहरूको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहीन र प्रचारमुखि कार्यमा सीमित रह्यो । अहिले केही पहलकदमी लिएको छ ।
हमास र लडाकुहरूबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसङ्घको दुई राष्ट्र स्थापनाको प्रस्ताव अनुरूप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु ।,’’ सांसद थापाले भन्नुभयो, ‘‘स्थानीय तहका कर्मचारीहरू असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरू ठप्प छन् । तिनको जायज मागहरू सम्बोधन गर्नेगरी सहमति र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरूका जायज माग अविलम्ब सुन्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’’ सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।