मोरङ । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सुनसरीको बराहक्षेत्रस्थित आश्रमबाट नियन्त्रणमा लिएको हो ।
धर्मगुरु श्रीनिवास पक्राउ सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले धर्मगुरु श्रीनिवाससँग केही कुरा बुझ्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अनुसन्धान गरिएको बताए ।
श्रीनिवासले जनकपुरमा घृणाका साथै हिंसा फैलाउने अभिव्यक्ति दिएको सम्बन्धमा सोधपुछका लागि सुनसरी प्रहरीको सहयोगमा सीआईबीले नियन्त्रणमा लिएको हो । श्रीनिवासले जनकपुरमा विवादस्पद अभिव्यक्ति दिएकाले थप अनुसन्धानका लागि जनकपुर नै पठाउने तयारी गरिएको प्रहरी स्रोतले बतायो ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धर्मगुरु श्रीनिवासले भड्काउने अभिव्यक्ति दिएका कारण नियन्त्रणमा लिएको पुष्टि गर्दै भनिन्, ‘अब सीआईबीले प्रक्रिया मिलाएर अनुसन्धान गर्नेछ ।’ श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । उनलाई २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएका थिए ।
उनलाई मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । पछि अदालतमा पुनरावेदन गरेका उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरिदिएको थियो ।
सुनसरीको झुम्का कारागारमा उनी २० दिनसम्म हिरासतमा बसेका थिए । केही समयअघि सुनसरीको धरानमा चलेको विवादलाई भड्काउन पनि श्रीनिवासले प्रयास गरेको प्रहरीको आरोप छ ।