काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले मन्त्री, सांसद, जनप्रतिनिधि र सरकारी प्राध्यापकले लगानी गरेका विद्यालयको प्रिन्सिपलको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ।
संसदमा दर्ता भएको शिक्षा विधेयक खारेजीको माग गर्दै आन्दोलन गरिरहेको अनेरास्ववियु क्रान्तिकारीले सोमबार मन्त्री, सांसद, जनप्रतिनिधिलगायतको लगानी रहेका तीन वटा विद्यालयमा तालाबन्दी गरेको हो।
त्यसक्रममा शिक्षामन्त्री अशोक राईको लगानी रहेको काठमाडौँको स्वप्नबाटिका स्कुलका साथै युलेन्स स्कुल र क्याम्पियन स्कुलको प्रन्सिपल र लेखा शाखामा पनि ताला लगाएको अखिल क्रान्तिकारीले जनाएको छ।
अखिल क्रान्तिकारीले संसद्मा दर्ता भएको प्रस्तावित शिक्षा विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्दै आएको छ। प्रस्तावित शिक्षा विधेयक राष्ट्रको हितविपरीत रहेको उक्त विद्यार्थी संगठनको भनाइ छ। राज्य शिक्षाको दायित्वबाट पन्छिन खोजेको उसको आरोप छ।