काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका १ वा २ स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका १ वा २ स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।