बेरुट । लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु भएको छ । लेबनानका अनुसार इजरायलले आफ्नो सीमामा ‘स्मोक बम’ छाडेको थियो जसको जवाफमा इजरायली सेनामाथि अश्रुग्याँस प्रहार गरिएको हो ।
उता, इजरायलले भने सीमामा अतिक्रमणको रिपोर्टबारे जाँच गर्न आफ्ना सैनिकहरू त्यहाँ पुगेको दाबी गरेको छ । इजरायल र लेबनानबिच आपसी सहमतिमा तय गरेको आधिकारिक सीमा छैन । दुवै देशको बिचमा संयुक्त राष्ट्रले सीमाङ्कनको एक रेखा कोरेको छ । यसलाई ब्लू लाइन भनिन्छ ।
ब्लू लाइनमा प्रायः जसो यस्ता घटना घटिरहन्छन् । यसले दुई देशबिचको तनाव बढ्ने गरेको छ । लेबनानको अधिकांश ठाउँमा हिजबुल्लाह आन्दोलनको प्रभाव रहेको छ । इजरायलसँगको तनावमा प्राय हिजबुल्लाह सामेल हुन्छन् । गत जुन र जुलाईमा इजरायली सैनिक र हिजबुल्लाहबिच कयौँ पटक झडप नै भएको थियो ।
त्यतिबेला पनि तनाव बढ्ने अपेक्षा गरिएको थियो । किनभने दुई देशको इतिहास हेर्दा साना–साना कुराले पनि ठुलो तनाव सिर्जन गर्न कति पनि समय लाग्दैन । हालै हिजबुल्लाह नेता हसन नसरल्लाहले इजरायलमाथि ब्लू लाइन उल्लङ्घन गरेको आरोप लगाएका थिए । लेबनानमा यो बेला राजनीतिक अस्थिरता रहेको छ । देशमा अक्टोबर २०२२ यता राष्ट्रपति नै छैनन् ।