मराकेस – मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८ सय २० जनाको मृत्यु भएको छ भने ६ सय ७२ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ।
भुकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको जनाएको छ।
शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन्। शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख छ। रासस /एएफपी