काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज (बुधबार) भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।
यसैगरी, प्रधानमन्त्रीप्रचण्डसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।