मोरङ / कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मको नाममा कसैले राजनीति गर्न नहुने बताएका छन्।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ले आयोजना गरेको ग्रीन एण्ड क्लिन धरान अभियानको समापन कार्यक्रममा नेता कोइरालाले मुलुकका सबै भाषाभाषी जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको बताए।
प्रतिनिधि सभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘यहाँ हरेक जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दैमा धर्मका नाममा राजनीति गर्न हुँदैन। हामी सबै उत्तेजना, बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुनुपर्छ।’
सोही क्रममा नेता कोइरालाले मुलुकमा अस्थिरता चाहने तत्वले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताए। उनले भने, ‘मुलुकमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामाजिक धार्मिक सद्भाव बिथोल्न खोजिँदै छ। त्यो हामी कदापि स्विकार्न सक्दैनाँै।’
उनले साम्प्रदायिक घटना मुलुकको कुनै एकस्थानमा फैलिएर त्यसको ज्वाला सबैतिर पुग्ने खतरा रहेको बताए।
धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडिएको बताएका कोइरालाले सबैलाई भाइचारा, स्नेह र सद्भावसाथ मिलेर बस्न आग्रह गरे।