काठमाडौँ / भारी वर्षाका कारण आइतबार कम्तीमा ७४ वटा उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार साँझ ७ बजेसम्म काठमाडौंबाट सुगम रुटअन्तर्गत भद्रपुर, तुम्लिङटार, विराटनगर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीका दुईतर्फी गरी ७४ वटा उडान रद्द भएका हुन् ।
त्यस्तै काठमाडौंबाट हिमाली क्षेत्रअन्तर्गत लुक्ला, भोजपुर र रुकुमका लागि तय गरिएका उडान पनि रद्द भएका छन् । आन्तरिक उडानमा रहेका बुद्ध, यती, श्री, तारा, सौर्य, सीता र नेपाल वायुसेवा निगमले काठमाडौं विमानस्थललाई आइतबारका लागि आउने र जाने गरी २ सय २४ वटा उडानको तालिका बुझाएका थिए । यीमध्ये दुईतर्फी गरेर कम्तीमा ७४ उडान खराब मौसमका कारण वायुसेवाहरूले रद्द गरेको जानकारी विमानस्थललाई दिएका छन् । ‘आइतबार राति १० बजेसम्म आन्तरिक उडान हुने भएकाले राति हुने उडान र हुन नसक्ने उडानको तथ्यांक सोमबार बिहानमात्रै यकिन हुनेछ,’ प्रवक्ता झाले भने ।
विमानस्थलका अनुसार बुद्धले ४४, यतीले १०, श्रीले ६, ताराले ४, सीताले ४, नेपाल वायुसेवा निगमले ६ उडान रद्द गरेका छन् । यसैबीच नेपालगन्जबाट आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा उडान हुन सकेन । नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार समिट, सीता र ताराले दुर्गम र हिमाली भेगमा उडान गर्न ५ वटा साना जहाज नेपालगन्जमा राखेका छन् । ‘हवाई रुट र विमानस्थलहरूको खराब मौसमका कारण आइतबार पहाडी भेगमा उडान हुन सकेन,’ खनालले भने, ‘मौसम खराब भएकै कारण २५ दिनदेखि डोल्पाको जुफालमा उडान बन्द छ ।’ सामान्य अवस्थामा नेपालगन्जमा दैनिक काठमाडौं, पोखरा र दुर्गम जिल्लाका लागि कम्तीमा दुई दर्जन उडान हुने गर्छन् ।
यसैगरी भारी वर्षाका कारण आइतबार चारवटा अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता झाका अनुसार चीनको छेन्दुबाट आएको एयर चाइनाको जहाज काठमाडौंमा अवतरण हुन नसकेर छेन्दु नै फर्केको थियो । त्यस्तै नेपालभित्र आइसकेको सिचुवान एयरको जहाज पनि काठमाडौंमा अवतरण हुन नसकेर छेन्दु नै फर्केको थियो । भुटानबाट आउनुपर्ने ड्र्युक एयरले काठमाडौंस्थित विमानस्थलको खराब मौसमका कारण उतैबाट उडान रद्द गरेको थियो । त्यस्तै दिल्लीबाट आएको एयर इन्डियाको जहाज भारी वर्षाका कारण काठमाडौंमा अवतरण हुन नसकेर बनारस फर्केको थियो । त्रिभुवन विमानस्थलका अनुसार, मनसुनमा दैनिक कम्तीमा आन्तरिकतर्फ २ सय र अन्तर्राष्ट्रियतर्फ ८० हाराहारी उडान हुने गर्छन् ।