काठमाडौँ / नेपाली लिग उपविजेता मछिन्द्र क्लबले एएफसी कप छनोटअन्तर्गत प्लेअफको दोस्रो चरणमा स्थान बनाएको छ।
मंगलबार भएको खेलमा भुटानी लिग च्याम्पियन पारो एफसीलाई ३–२ ले पराजित गर्दै मछिन्द्रले भारतीय क्लब मोहन बगानसँगको भेट पक्का गर्यो।
पहिलो हाफमा नै मछिन्द्रले ३–१ को अग्रता बनाए पनि दोस्रो हाफमा मछिन्द्रले थप गोल नगरे पनि पारोले अर्को एक गोल फर्काएको थियो। तर जितका लागि पर्याप्त भने भएन।
मछिन्द्रको जितमा विमल घर्ती मगर, आयुष घलान र आफिज ओलावालेले १–१ गोल गरे। त्यस्तै, पारोका लागि काजु होमा र इभान आसान्टेले गोल गरेका थिए।
यसअघिको संस्करणमा श्रीलंकाको ब्लु स्टारसँग पराजित भएर मछिन्द्र प्रतियोगिताबाट बाहिरिए पनि यो पटक मछिन्द्रले दोस्रो चरणको ‘प्लेअफ’मा स्थान बनायो।
मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा ३१ साउनमा भारतीय क्लब मोहन बगानको सामना गर्नेछ। खेल कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ। यो खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग खेल्ने छ।